मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औँ विश्व च्याम्पियन उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।

  • ११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते बिहीबार त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ । टोली नेता अध्यक्ष तामाङले विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्ने र त्यसको अनुभव नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देखाउने बताए ।

खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्न अध्यक्ष वीरवहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए । विदाई कार्यक्रमा महासचिव लामाले सहभागि खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास प्रकट गर्दै सफलताको शुभकामना दिए ।

सो अवसरमा उसुका मुख्य प्रशिक्षक अमरकुमार सिंह र टेक्नीकल डाइरेक्टर गणेश अर्याल र महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।